सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटनबारे छलफल गर्न आज पनि वार्ता हुँदै
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते ०८:५६
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने विषयमा आज पनि छलफल हुने भएको छ । यसका लागि आज बिहान ९ बजे वार्ता हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो ।
कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटेको छ तर संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले माग राखेका छन् । कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो।
शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन्। तर संसद् विघटन गर्ने विषयमा राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुनः वार्ता गर्न लागिएको हो।
Facebook Comments