संवैधानिक प्रक्रियाबाटै निकास खोन्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते १९:५४
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वर्तमान विषम परिस्थितिको निकास संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्नेमा जोड दिएका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राष्ट्रपतिले यसका लागि पहल गरिरहेको र विधिको शासनबाट बाहिर जान नहुने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनीहरूले ज्यान गुमाएका युवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेको उपचारमा कमी हुन नदिन आग्रह गरेका छन् ।
संसद भवनसहित सिंहदरबारभित्रका विभिन्न सरकारी कार्यालय र सार्वजनिक सम्पत्तिमा भएको तोडफोड तथा आगजनीप्रति पनि संघीय संसदले गम्भीर चासो देखाएको छ ।
‘देशभर भएका घटनाले लोकतान्त्रिक मूल्य, सम्पत्ति र संस्थागत संरचनामा ठूलो क्षति पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले सबै पक्षलाई शान्तिपूर्ण बाटो रोज्न र संविधानको दायराभित्र रही आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
Facebook Comments