संविधानबाट ‘जेनजी’को माग सम्बोधन गरौं : पूर्वराष्ट्रपति यादव
मेयरसाप डेस्क
|
२०८२ भदौ २७ गते ११:११
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले ‘जेनजी’ आन्दोलनले निम्त्याएको हिंसा, आगजनी र तोडफोडबाट आफू स्तब्ध भएको बताउँदै वर्तमान संविधानको सही कार्यान्वयनबाटै युवाहरूको माग पूरा गर्न सकिने धारणा राखेका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले ‘जेनजी’ ले उठाएका भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनजस्ता मागहरू जायज रहेको स्वीकार गरेका छन् ।
तर, आन्दोलनका नाममा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत र अन्य सरकारी संरचनामा भएको नियोजित आगजनी र तोडफोडको उद्देश्य र त्यसका कारकहरू पत्ता लगाउनुपर्नेमा उनले जोड दिएका छन् ।
पूर्वराष्ट्रपति यादवले २०६२/०६३ को जनआन्दोलन र नेपालको संविधान २०७२ ले स्थापित गरेको शासन प्रणालीलाई ध्वस्त पार्ने प्रयास भएकोतर्फ पनि सबैको ध्यान जानुपर्ने बताएका छन् ।
उनले लाखौँलाई रोजगारी दिने औद्योगिक र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले देशको अर्थतन्त्रमा दूरगामी असर पार्ने भन्दै यस्तो घातक प्रवृत्तिबाट मुलुकलाई जोगाउन सबैलाई आग्रह गरेका छन् ।
उनले आन्दोलनपछि सिर्जित राजनीतिक अन्योल अन्त्य गर्न र मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्याउन जिम्मेवार निकायहरूले ढिलाइ नगर्ने विश्वास व्यक्त गरेका छन् ।
Facebook Comments