बिजुली बलेपछि टेम्केमैयुङका बासिन्दामा खुसी

User Image मेयरसाप डेस्क | २०८२ असोज ५ गते ०५:५९
Image of https://mayorsap.com/storage/photos/10/68cf85046fc77.jpg

भोजपुर । भौगोलिक रूपमा विकट मानिने भोजपुरको टेम्केमैयुङ गाउँपालिका का दुर्गम बस्तीहरूमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयवासीको दैनिकीमा ठूलो परिवर्तन आएको छ । 

विद्युत् सेवा विस्तार भएपछि जीवनयापन सहज हुनुका साथै सूचना र सञ्चारको पहुँचमा पनि वृद्धि भएको छ । गाउँपालिकाको वडा नं. ४ नागीको लुङ्गिन बस्तीमा विद्युत् पुगेपछि स्थानीयवासी रामबहादुर राईले खुसी व्यक्त गरे । 

राईले भने, ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बलेको हो । भौगोलिक रूपमा विकट भए पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’

अर्का स्थानीय बलिराज राईले विद्युत् विस्तारपछि गाउँमा नै इन्टरनेट चलाउन र टेलिभिजन हेर्न पाएको बताए । ‘गाउँ नै उज्यालो बनेको छ । बालबच्चाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन्,’ उनले भने ।

१७३.४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका नौवटै वडामा विद्युत् सेवा विस्तार भइसकेको छ । यसले यस क्षेत्रका नागरिकहरूलाई सूचना तथा सञ्चारको पहुँचमा जोड्न ठूलो सहयोग पुगेको छ ।


Facebook Comments