केराको रेसाबाट कपडा बुनेर आत्मनिर्भर बन्दै टीकापुरका महिला
मेयरसाप डेस्क
|
२०८२ असोज ५ गते ०४:५२
भजनी । टीकापुर नगरपालिकाका महिलाहरू खेर जाने केराको बोट (थाम) बाट रेसा निकाली कपडा बुनेर आत्मनिर्भर बन्न थालेका छन् । एक सहकारी संस्थाले दिएको २५ दिने निःशुल्क तालिम र अनुदानमा पाएको उपकरणले उनीहरूको जीवनमा परिवर्तन ल्याएको छ ।
टीकापुर नगरपालिका–५ की जुगरानी चौधरी तालिमपछि उद्यममा जोडिएकी छन् । सुरुमा उनलाई केराको बोटबाट कपडा बन्छ भन्ने विश्वास लागेको थिएन, तर अहिले परिवारले समेत उनलाई विश्वास गर्न थालेको छ । ‘आफूलाई पनि आत्मनिर्भर भएको महसुस हुन्छ,’ उनी भन्छिन् ।
टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठ जना सदस्यलाई तालिम दिएको थियो । सोही ठाउँकी कमला साउद भन्छिन्, ‘सीप भएपछि पैसा कमाउन समस्या नहुँदोरहेछ । हिजो घरमा दिन बिताउन मुस्किल हुन्थ्यो, आजभोलि समय नै पुग्दैन ।’
महिलाहरूले उत्पादन गरेको कपडा काठमाडौंको अल्लो बजारले प्रतिमिटर ३०० रुपैयाँमा खरिद गरिरहेको छ । माग अत्यधिक भए पनि बुन्न झन्झटिलो हुँदा उत्पादन कम भइरहेको वडा नं. ७ की सकुन्तला चौधरीले बताइन् ।
उत्पादन भएको कपडाबाट टोपी, झोला, चप्पल र जुत्ता लगायतका सामग्री बनाउन सके अझ राम्रो आम्दानी हुने उनीहरूको विश्वास छ । यसका लागि थप सीप र आधुनिक मेसिनमा सरकारको सहयोगको अपेक्षा उनीहरूले गरेका छन् ।
टीकापुरमा हाल एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ । स्थानीय महिलाहरूले खेर गइरहेको कच्चा पदार्थलाई सदुपयोग गरी रोजगारी सृजना गर्न सकेकोमा स्थानीय सरकारबाट पनि थप सहयोगको आशा राखेका छन् ।
Facebook Comments