पेरुमा ‘जेनेरेसन जेड’ युवाहरूले थाले सरकारविरुद्ध आन्दोलन
मेयरसाप डेस्क
|
२०८२ असोज ५ गते १२:१२
एजेन्सी । पेरुको राजधानी लिमामा शनिबार सरकारविरोधी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । ‘जेनेरेसन जेड’ नामक युवाहरूको समूहले आयोजना गरेको यो प्रदर्शनमा सहभागी सयौं मानिसहरूले भ्रष्टाचार, सङ्गठित अपराध र हालै पारित गरिएको पेन्सनसम्बन्धी कानुनको विरोध गरेका छन् ।
प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रयोग गरी भीड नियन्त्रणमा लिएको थियो । सुरुमा शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनकारीहरूको समूह कार्यपालिका र संसद भवनतर्फ अगाडि बढ्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो ।
प्रदर्शनमा सहभागी ५४ वर्षीया ग्ल्याडिसले देशमा लोकतन्त्र कमजोर भएको टिप्पणी गरिन् । त्यस्तै, एक युवा सेलेन अमासिफुएनले संसदप्रति जनताको विश्वास गुमेको र त्यसले देशमा अव्यवस्था फैलाएको बताए ।
झडपका क्रममा पत्रकार र क्यामेराम्यानसहित कम्तीमा तीन जना प्रहरी जवान पनि घाइते भएका छन् ।
राष्ट्रपति डिना बोलुआर्टेको लोकप्रियता घट्दो क्रममा छ । जबर्जस्ती असुली र अपराधका घटना बढ्नुका साथै हालै पारित गरिएको नयाँ पेन्सन कानुनले पनि जनतामा असन्तुष्टि बढाएको छ ।
अस्थिर रोजगारीको वातावरणमा निजी पेन्सन कोषमा अनिवार्य आबद्ध गराउने व्यवस्थाप्रति युवाहरूले विरोध जनाएका छन् । सर्वेक्षणहरूले पनि सरकार र संसदप्रति जनताको विश्वास कमजोर हुँदै गएको देखाएका छन् ।
Facebook Comments