वडाध्यक्ष कुँवरले ज्येष्ठ नागरिकलाई बाँढे आफ्नो तलबभत्ता

२० जनालाई जनही रु एक हजार ५०० का दरले रकम वितरण

User Image मेयरसाप डेस्क | २०८२ असोज ६ गते ०७:४१
Image of https://mayorsap.com/storage/photos/10/68d116e0aec93.jpg

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले आफूले पाएको तलब–भत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेका छन् ।

वडाध्यक्ष कुँवरले घटस्थापनाको अवसरमा आज वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रु दुई लाख ६२ हजार वितरण गरे। उनका अनुसार १४२ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २० जनालाई जनही रु एक हजार ५०० का दरले रकम वितरण गरिएको हो ।  

पहिलो पटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका थिए। उनी दोस्रो कार्यकालमा समेत नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

“मैले राज्यबाट सेवा सुविधाबापत पाउने सबै रकम सामाजिक कार्य र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्दै आएको छु”, वडाध्यक्ष कुवँरले भने, “यसपालि पनि दसैँ मनाउन सहयोग पुगोस् भनेर वृद्ध आमाबुबाहरुलाई रकम वितरण गरेको छु ।” उनले लगातार आठ वर्षदेखि आफूले पाएको सुविधाको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको बताउनुभयो । उनले आफूले पाउने रु २२ हजार ४७० पारिश्रमिक जम्मा गरेर दसै‌का बेला वितरण गर्ने गरेका छन् । वडाध्यक्ष कुँवरले कतिपय ज्येष्ठ नागरिकको औषधि उपचार खर्च समेत आफैले बेहोर्दै आएका छन् ।  


Facebook Comments