सिङ्गापुरको ढुवानी कम्पनीद्वारा श्रीलङ्काको एक अर्ब डलर क्षतिपूर्ति तिर्न अस्वीकार

User Image मेयरसाप डेस्क | २०८२ असोज ७ गते ०४:५६
Image of https://mayorsap.com/storage/photos/10/68d2639db4ca6.jpg

एजेन्सी । सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स–प्रेस फिडर्सले मङ्गलवार एएफपीसँगको अन्तर्वार्तामा श्रीलङ्काको सर्वोच्च अदालतले आदेश दिएको एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्न अस्वीकार गर्ने जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी स्मुएल योस्कोभिट्जले क्षतिपूर्ति भुक्तानीले विश्वव्यापी ढुवानीमा गम्भीर असर पार्ने र ‘खतरनाक उदाहरण’ स्थापित गर्ने विश्वास व्यक्त गरे।

यो कम्पनीले सञ्चालन गरेको एमभी एक्स–प्रेस पर्ल जहाज सन् २०२१ जुनमा कोलम्बो नजिक आगलागीपछि डुबेको थियो । उक्त घटनामा नाइट्रिक एसिड चुहावट, खतरनाक सामान बोकेका ८१ कन्टेनर र सयौँ टन प्लास्टिक छर्राहरू समुद्रमा बगेका थिए । कतार र भारतले एसिड उतार्न अस्वीकार गरेपछि जहाज श्रीलङ्काको पानीमा प्रवेश गरेको थियो।

टनौँ माइक्रोप्लास्टिकले श्रीलङ्काको पश्चिमी तटको ८० किलोमिटर क्षेत्रमा प्रदूषण फैलाएको थियो, जसका कारण महिनौँ माछा मार्न प्रतिबन्ध लगाइएको थियो ।

श्रीलङ्काको सर्वोच्च अदालतले जुलाईमा कम्पनीलाई एक वर्षभित्र ‘प्रारम्भिक’ एक अर्ब डलर क्षतिपूर्ति तिर्न आदेश दिँदै पहिलो किस्ता २५ करोड डलर मङ्गलबारसम्म बुझाउन भनिएको थियो । साथै भविष्यमा थप भुक्तानी गर्नुपर्ने आदेश पनि दिएको थियो।


Facebook Comments