वैकुण्ठेमा बिजुली पुगेपछि जनजीवन र उद्यमशीलतामा परिवर्तन
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०४:४१
भोजपुर । जिल्लाको रामप्रसाद राई गाउँपालिका–६, वैकुण्ठेमा विद्युतीकरण भएपछि ग्रामीण क्षेत्रको जनजीवन निकै सहज बनेको छ ।
भौगोलिक रूपमा विकट मानिएको यस क्षेत्रमा बिजुली पुगेपछि स्थानीयले उज्यालो मात्र पाएका छैनन्, आधुनिक यन्त्र उपकरण प्रयोग गरेर दैनिकीलाई सहज बनाउन थालेका छन् ।
विद्युत् पहुँचले कुटानी, पिसानी लगायत दैनिक कामकाजमा सहजता आएको वडासदस्य जानुका सुयलले बताए । गाउँमै विद्युतीय मिल जडान भएपछि एक दिन लगाएर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।
वडाध्यक्ष एकराज आचार्यका अनुसार, वडाले उद्यमशीलता विकासमा सहजीकरण गर्दै स्थानीयको कुटानी–पिसानीको समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ ।
वडाध्यक्ष आचार्यले विद्युत्को उपयोग गरी रैथाने बालीहरू (कोदो, गहुँ, जौ, फापर) को पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको बताए । ‘वैकुण्ठेको उत्पादन काठमाडौंको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको र विद्युतीकरणले यसमा थप सहजता आएको उनको भनाइ छ ।
विद्युत् विस्तारले सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडासदस्य जयन्द्रकुमार राईले बताए ।
Facebook Comments