लद्दाखमा प्रदर्शन हिं*सात्मक बनेपछि कडा सुरक्षा प्रतिबन्ध

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०७:२५
Image of https://mayorsap.com/storage/photos/10/68d5026e0a47e.jpg

काठमाडौं । भारत सरकारबाट बढी स्वायत्तता र पूर्ण राज्यको दर्जा माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्ला–लेह र कारगिलमा सुरक्षा प्रतिबन्धहरू लगाएका छन् ।

हिंसामा कम्तीमा चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनपछि लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । बिहीबार सडकमा सयौँ प्रहरी र अर्धसैनिक परिचालन गरिएकाले बजार तथा व्यवसायहरू बन्द छन् ।

उच्च उचाइको सहर लेहमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली, अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । प्रदर्शनकारीहरूले सरकारी भवन र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा समेत आगजनी गरेका थिए ।

भारतको गृह मन्त्रालयले प्रहरीले ‘आत्मरक्षा’मा गोली चलाएको बताउँदै जलवायु कार्यकर्ता सोनम वाङ्चुकको ‘उत्तेजक भाषण’ लाई हिंसाका लागि दोष दिएको छ । वाङ्चुकले त्यसपछि भोक हडताल फिर्ता लिएका छन् ।

सन् २०१९ मा लद्दाखलाई जम्मु–काश्मीरबाट अलग गरी राज्यको दर्जा र अर्धस्वायत्तता खोसेपछि यहाँ राजनीतिक अधिकार र भूमि संरक्षणका माग चर्किएका हुन् ।

सुरुमा २०१९ को परिवर्तनलाई समर्थन गरेका स्थानीय बासिन्दा अहिले भूमि कब्जा, व्यापार घाटा र नाजुक इकोसिस्टममा क्षतिको डरले असन्तुष्ट छन् । लद्दाखमा भएको यो हिंसा दशकौँयताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।

लद्दाख प्रतिनिधि र भारत सरकारबीच अर्को बैठक अक्टोबर ६ मा तोकिएको छ । यस क्षेत्रमा जलवायु परिवर्तनको असर पनि गम्भीर छ, जहाँ चीनसँगको सीमा विवाद र सैन्य गतिविधिले प्रदूषण बढाई हिमनदी पग्लिने क्रमलाई तीव्र पारेको छ ।


Facebook Comments