दसैँ सुरु भएसँगै आन्तरिक उडानमा अत्यधिक चाप

User Image मेयरसाप डेस्क | २०८२ असोज ९ गते ०६:१७
Image of https://mayorsap.com/storage/photos/10/68d503865ff98.jpg

काठमाडौं । बडादसैँ सुरु भएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा यात्रुको चाप अत्यधिक बढेको छ । विशेषगरी मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि हवाई यात्रा गर्नेहरूको संख्या एक्कासि बढेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनादेखि नै आन्तरिक उडानमा चाप छ । आज (बिहीबार)का लागि मात्रै एकतर्फी १६७ आन्तरिक उडानको तालिका रहेको छ । हिजो (बुधबार) प्रतिकूल मौसमका कारण पोखरा र भैरहवाका धेरै उडान रद्द भएपछि आज चाप बढेको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले आज दुईतर्फी १७० उडान निर्धारण गरेको छ । दसैँमा यात्रुको चाप व्यवस्थापन गर्न भैरहवा र भरतपुरमा समान दुई–दुई उडान थप गरिएको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले सडक अवरुद्धका कारण चाप बढेको र यो आइतबारसम्म कायम रहने बताए । हाल काठमाडौँबाट बाहिरिने यात्रुको संख्या बढी भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ ।

हाल समग्रमा दैनिक ३४० भन्दा बढी आन्तरिक उडान र ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । दसैँका लागि विदेशबाट नेपाल आउने यात्रुको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चाडपर्वमा यात्रुलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई इन्धनको मूल्यवृद्धिका कारण भाडा महँगो भएकाले राज्यले इन्धनमा सहुलियत दिएर भाडा नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।


Facebook Comments