विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्री पुनलाई आग्रह
मेयरसाप डेस्क
|
२०८२ असोज ९ गते ०५:४२
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई स्थायी दरबन्दीमा राख्नुपर्ने लगायतका माग राख्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन समक्ष ज्ञापनपत्र बुझाएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले लामो समयदेखि थाँती रहेका समस्या र विगतमा सरकारसँग भएका सहमतिअनुसार उचित सम्बोधनका लागि मन्त्री पुनलाई आग्रह गरिएको जानकारी दिए ।
मन्त्री पुनले भने चाडपर्वपछि बसेर समस्या समाधानको पहल गर्ने आश्वासन दिएका छन् । यद्यपि, उनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले ठूलो अपेक्षा नगर्न पनि आग्रह गरे ।
बागमती प्रदेश कमिटीका अध्यक्ष रामशरण फुयाँलले प्रत्येक सामुदायिक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी राख्ने मन्त्री पुनको पछिल्लो निर्णयलाई सकारात्मक मान्दै कम्प्युटरमा क्षमतावान लेखापाललाई नै उक्त दरबन्दीमा रूपान्तरण गर्न सकिने सुझाव दिएका छन् ।
हाल विद्यालयका लेखापालले मासिक १५ हजार रुपैयाँ र कार्यालय सहायकले १० हजार रुपैयाँ मात्र पाउँदै आएका छन् । कर्मचारीले न्यून पारिश्रमिकमा परिवार पाल्न गाह्रो भएको भन्दै मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।
परिषद्ले सर्वोच्च अदालतको २०६७ सालको आदेशअनुसार कर्मचारीको सेवा, शर्त र सुविधासहितको ’सर्भिस ल’ बनाई कार्यान्वयन गर्न पनि माग गरेको छ ।
Facebook Comments