प्रचण्डको महँगो घडी र छोरीको विलासी ब्यागबारे पार्टीको बैठकमा उठ्यो प्रश्न?
मेयरसाप डेस्क
|
२०८२ असोज १० गते ०६:००
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारको विलासी जीवनशैलीबारे प्रश्न उठेको छ ।
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने भनिएको ६४ लाखको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाए ।
पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष थाल्नुपर्नेमा जोड दिँदै मिडियामा आएका यी समाचारहरू यदि गलत हुन् भने तुरुन्तै सम्बन्धित मिडिया र नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती समेत दिए ।
प्रस्तावमा भनिएको छ, यदि ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए पनि व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुन्छ । उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि लागेको उपहार बेचेर निजी लाभ लिएको आरोपको स्मरण गराउँदै नेतृत्वको पारदर्शिता माथि उठेका प्रश्नहरूको निरूपण हुनैपर्नेमा जोड दिएका छन् ।
पन्तले पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’को २ अर्ब ८२ करोडको हिसाबकिताब, र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूको लाभ बारे निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन् ।
Facebook Comments