भारतको मिग–२१ लडाकू विमान ६ दशकपछि सेवानिवृत्त

User Image मेयरसाप डेस्क | २०८२ असोज १० गते १९:४७
Image of https://mayorsap.com/storage/photos/10/68d675a8cd146.jpg

काठमाडौं । भारतले शुक्रबार औपचारिक रूपमा सोभियत युगको मिग–२१ लडाकू जेटलाई सेवाबाट बिदा गरेको छ । ६० वर्षभन्दा बढी समयसम्म भारतीय वायुसेनाको ‘वायु शक्तिको मेरुदण्ड’ बनेको यो विमान, अन्ततः यसको नामसँग जोडिएको ‘फ्लाइङ कफिन’ उपनाम पनि इतिहासमा सीमित भएको छ ।

भारतीय वायुसेनाले चीन र पाकिस्तानबाट आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न आफ्नो फ्लीटलाई आधुनिक बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मिग–२१ लाई सेवामुक्त गरेको हो ।

यो कदमसँगै वायुसेनाको स्क्वाड्रन सङ्ख्या सरकारले अनुमोदित ४२ स्क्वाड्रनभन्दा कम (२९ मा सीमित) भएको छ । रक्षा विश्लेषकहरूले फ्लीटमा आएको यो गिरावटलाई नरोकेमा आधुनिक युद्धमा प्रतिस्पर्धा गर्न गाह्रो हुने चेतावनी दिएका छन् ।

सन् १९६० को दशकमा भित्र्याइएको मिग–२१ ले पाकिस्तान र चीनसँगका युद्धमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । सन् १९७१ देखि २०१२ सम्म भारतमा भएका ४८२ दुर्घटनामा १७१ पाइलट सहित धेरैको मृत्यु भएपछि यसलाई ’फ्लाइङ कफिन’ भन्न थालिएको थियो । शुक्रबार चण्डीगढस्थित उत्तरी एयरबेसमा रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा अन्तिम उडानसँगै विमानलाई वाटर क्यानन सलामी दिएर बिदाइ गरिएको थियो ।

भारतले हाल राफेल, मिराज २०००, सु–३० र मिग–२९ सञ्चालन गरिरहेको छ । वायुसेना अब स्वदेशी तेजस जेट कार्यक्रमलाई तीव्रता दिनतर्फ लागेको छ । भारतले हालै ८७ थान तेजस खरिद गर्ने सम्झौता गरेको छ भने बिहीबार थप ९७ तेजस खरिद गर्ने नयाँ सम्झौता गरेको छ ।

साथै, वायुसेना स्थानीय रूपमा राफेल वा अमेरिकाको एफ–३५ उत्पादन गर्ने प्रस्तावमाथि पनि विचार गरिरहेको छ, यद्यपि स्वदेशी उत्पादन नै प्राथमिकतामा रहेको सङ्केत दिएको छ ।


Facebook Comments