इरानमाथि १० वर्षपछि पुनः आणविक प्रतिबन्ध लागु हुने तयारी

User Image मेयरसाप डेस्क | २०८२ असोज ११ गते २३:४१
Image of https://mayorsap.com/storage/photos/10/68d797770093d.jpg

काठमाडौं । इरानसँग गरिएको आणविक सम्झौतामा अपेक्षित प्रगति नदेखिएपछि संयुक्त राष्ट्रसङ्घले एक दशकपछि पुनः प्रतिबन्धहरू लगाउने तयारी गरेको छ । अन्तिम समयमा कुनै विशेष सहमति नजुटेमा आज (शनिबार) राति ८ बजेदेखि प्रतिबन्धहरू प्रभावमा आउनेछन् ।

युरोपेली मुलुकहरूले इरानले पारदर्शिता नदेखाएको र आणविक कार्यक्रमबारे स्पष्ट जानकारी नदिएको भन्दै ’स्वतः लागु हुने प्रतिबन्ध प्रक्रिया’ सुरु गरिसकेका छन् । 

हालै अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई प्रवेश दिए पनि पश्चिमी राष्ट्रहरूले त्यसलाई पर्याप्त मानेका छैनन् । यी प्रतिबन्धहरूले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँगको विश्वव्यापी व्यापारमा रोक लगाउनेछन् ।

इरानी राष्ट्रपति मसुद पेजश्कियानले आणविक चिन्ता समाधान गर्ने उद्देश्य भए संवादको ढोका खुला रहेको बताए । तर केही मुलुकले शासन परिवर्तन गर्ने रणनीति अपनाएको आरोप लगाए ।

रुस र चीनले प्रतिबन्ध स्थगन गर्न सुरक्षा परिषद्मा प्रस्ताव राखे पनि सफल भएन, यद्यपि रुसले प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट सङ्केत दिएको छ । विश्लेषकहरूका अनुसार, प्रतिबन्ध लागु भएमा मुद्रास्फीति र मुद्रा अवमूल्यनले थलिएको इरानको अर्थतन्त्र थप दबाबमा पर्नेछ ।

यसैबीच, इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसभामा सम्बोधन गर्दै प्रतिबन्धमा ढिलाइ नगर्न आग्रह गरे र आवश्यकता परे इरानको आणविक पूर्वाधारमाथि कारबाही गर्न तयार रहेको सङ्केत दिएका छन् ।

इरानले भने कुनै पनि हालतमा आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता दोहोर्याउँदै, अन्तर्राष्ट्रिय सन्धिबाट बाहिरिने विचार नरहेको स्पष्ट पारेको छ ।


Facebook Comments