अर्थमन्त्री खनाल र जापानी राजदूतबीच भेटवार्ता, के भयो छलफल?
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ००:०२
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरु बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा नेपालको परिवर्तित राजनीतिक अवस्था, नेपाल–जापानको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको हो ।
छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनःनिर्माणसहित आर्थिक विकासका कार्यहरूलाई निरन्तरता दिइने बताए ।
उनीहरूबीच निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना र तनहुँ जलविद्युत् आयोजना लगायतका जारी सहयोगका साथै निकट भविष्यमा सम्झौता हुन गइरहेका कोटेश्वर चोक सुधार परियोजना र सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम समेतका विषयमा कुराकानी भएको थियो ।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा को पनि उपस्थिति रहेको थियो ।
Facebook Comments