विचलित नभई उच्च मनोबलका साथ काम गर्न गृहसचिवको निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ असोज १२ गते २३:२२
Image of https://mayorsap.com/storage/photos/10/68d90753ef113.png

काठमाडौं । गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिए । उनले प्रहरीलाई थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुन जोड दिए ।

गृहसचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले नेपाल प्रहरी संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्रभित्र रहेर नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहेको बताए ।

निरीक्षणका क्रममा प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले सङ्गठनको चुनौती, समस्या र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए ।


Facebook Comments