डेरामा बस्नेहरूको लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते ०३:०८
काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरा गरी बस्नेहरूको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि दुर्गाको अस्थायी मूर्ति स्थापना गरी पूजाको व्यवस्था मिलाएको हो ।
काउन्सिलका अध्यक्ष सुनिलराज भण्डारीले विभिन्न जिल्लाबाट काठमाडौं आएर डेरामा बस्नेहरूलाई पूजा आराधना गर्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको बताए ।
डेरामा बस्दा सबै व्यवस्थापन गर्न असहज हुने भएकाले चोकमा सामूहिक पूजा सुरु गरिएको उनको भनाइ छ । स्थानीय फलफूल पसले रविप्रसाद काफ्लेले पुख्र्यौली थलो फर्कन नसक्नेहरूका लागि यसले सहयोग पुर्याएको बताए ।
काउन्सिलका सचिव सुबोधचन्द्र साहका अनुसार बहालमा बस्ने सबैकामा पूजा गर्ने स्थान नहुने भएकाले यो व्यवस्थाले सबैलाई चाडपर्व मनाउन सहयोग पुगेको छ ।
चोकमा देवी भजन, स्तोत्र र मालश्री धुन सँगै सामूहिक रूपमा दुर्गा उपासना गर्दा सांस्कृतिक परम्परा आदानप्रदान हुनुका साथै सामाजिक घुलमिल हुने वातावरण बनेको स्थानीयको अनुभव छ ।
Facebook Comments