दसैँ सुरु भएपछि गाउँमा बढ्यो चहलपहल
मेयरसाप डेस्क
|
२०८२ असोज १३ गते १९:२३
ढोरपाटन । रोजगार, अध्ययन र अन्य कामले सहरबजार तथा विदेश गएकाहरू दशैँ मनाउन गाउँ फर्कन थालेपछि बागलुङका ग्रामीण क्षेत्रहरूमा चहलपहल बढेको छ । दुई साताअघिसम्म सुनसान रहेका गाउँघरमा अहिले टोल, छरछिमेक र चौताराहरूमा जमघटको रौनक छाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरका अनुसार घटस्थापना सुरु भएदेखि नै जिल्ला भित्रिने यात्रुको चाप बढेको छ । अहिले दैनिक ८ हजार ५ सयको सङ्ख्यामा यात्रु जिल्ला भित्रिने गरेका छन् । यसका कारण जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट हटिया बजार भने विस्तारै सुनसान बन्न थालेका छन् ।
चाडबाडका बेला यात्रुलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालयले मालढुङ्गा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजार गरी चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
गाउँमा रोजगारीको अभावमा युवाहरू बाहिरिएका कारण सुनसान बनेको गाउँ दशैँले गर्दा फेरि रमाइलो बनेको स्थानीयले बताएका छन् । चाडपर्व सकिएलगत्तै अधिकांश युवाहरू पुनः सहर र विदेश फर्कनेछन् ।
Facebook Comments