जनताको निराशा सम्बोधन गर्न राष्ट्रिय एकताका लागि अध्यक्ष दाहालको आह्वान

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते १२:४३
Image of https://mayorsap.com/storage/photos/10/68da22e19da97.jpg

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विजया दशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न तथा राष्ट्रिय एकतासहितको समृद्ध राष्ट्र निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

जेनजी प्रदर्शनले ल्याएको परिवर्तनसँगै उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले दशैँलाई फजुल खर्च, कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक मनाउन आग्रह गरे । 

उनले बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

सन्देशमा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक जीवन मूल्यका संस्कारको संरक्षण गर्ने र अन्धविश्वास तथा भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु जरुरी रहेको पनि उल्लेख गरिएको छ ।

उनले जनताको लामो सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने दायित्व रहेको स्मरण गराए ।


Facebook Comments