मुस्ताङमा ९ महिनामा १ लाख ८ हजार विदेशी पर्यटक भित्रिए

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते ०९:२४
Image of https://mayorsap.com/storage/photos/10/68da1d318880f.JPG

मुस्ताङ । धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्मको नौ महिनाको अवधिमा एक लाख आठ हजार ६ सय ८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष (२०२४) को सोही अवधिको तुलनामा यो सङ्ख्या पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । अघिल्लो वर्ष उक्त अवधिमा एक लाख दुई हजार ८ सय ९४ पर्यटक आएका थिए ।

सन् २०२४ मा कुल एक लाख ३५ हजार ७ सय १९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ मा यो अनुपात कायम राख्न डिसेम्बरसम्ममा थप १९.९१ प्रतिशत (२७ हजार ३३ जना) विदेशी पर्यटक वृद्धि हुनुपर्छ ।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले अनुकूल पर्यटक सिजनमा पनि प्रतिकूल मौसम र युवाहरूको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण विदेशी पर्यटकको आगमन कम भएको बताए । सन् २०२४ को सेप्टेम्बरमा मात्रै ११ हजार ७ सय ८५ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

मुस्ताङमा पर्यटकहरू यहाँको पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमन्दिर, माने छोर्तेन, पुराना मानव निर्मित गुफा र मनोरम हिमशृङ्खला अवलोकन गर्न आउने गरेका छन् । उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर र ढुम्बाताल यहाँका प्रमुख पर्यटकीय सम्पदा हुन् ।


Facebook Comments