धौलागिरि हिमालमा शरदयामको आरोहण सुरु

User Image मेयरसाप डेस्क | २०८२ असोज १३ गते ०८:४६
Image of https://mayorsap.com/storage/photos/10/68da1d30a43a6.jpg

म्याग्दी । विश्वको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । आइतबार सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका स्पेन, चीन र फ्रान्सका एक/एक जना आरोहीले तीन जना नेपाली शेर्पाको सहयोगमा सफल आरोहण गरेका हुन् ।

सफल आरोहण गर्नेमा स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु र फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी तथा नेपाली शेर्पा पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पा रहेको सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए । उनका अनुसार शेर्पा टोलीले शुक्रबार चुचुरोसम्म बाटो खोलेर शनिबार डोरी टाँग्ने काम (रोप फिक्सिङ) गरेका थिए ।

पर्यटन विभागका अनुसार, यो शरदयाममा धौलागिरि आरोहणका लागि तीन समूहका २४ जना (सात महिला र १७ पुरुष) ले अनुमति लिएका छन्, जसबाट ५० लाख ७१ हजार रुपैयाँ सलामी दस्तुर सङ्कलन भएको छ ।

छिनछिनमा परिवर्तन हुने मौसमका कारण धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । यस हिमालको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले गरेको थियो ।


Facebook Comments