जेनजी आन्दोलनका घाइते भन्छन्– ‘देशका लागि यति गर्न सकेकोमा गर्व छ’
मेयरसाप डेस्क
|
२०८२ असोज १३ गते २०:०७
काठमाडौं । भदौ २३ गतेको जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर बायाँ पाखुरामा घाइते भएका २५ वर्षीय मदन कार्कीले आफूलाई गोली लागेकोमा देशका लागि यतिसम्म गर्न सकेकोमा गर्व लागेको बताएका छन् ।
हाल महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार गराइरहेका भिडियोग्राफर कार्कीले भ्रष्टाचार र बेथितिविरुद्धको युवा आन्दोलन एक विस्फोटन भएको र यसमा सम्पूर्ण नेपालीको सहयोग रहेको बुझाइ व्यक्त गरे ।
गोली प्रहारको क्षण सम्झँदै उनले शान्तिपूर्ण आन्दोलनको मनसाय भए पनि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भीड आक्रामक बनेको र संसद् भवनअगाडि अचानक गोली चल्दा चार÷पाँच जना साथीहरूसँगै आफू पनि घाइते भएको बताए ।
कार्कीले सार्वजनिक सम्पत्ति जल्न नहुने भए पनि सम्पत्तिमा भएको क्षतिले ’अकूत सम्पत्ति’ जोड्ने नेताहरूको वास्तविकता छर्लङ्ग पारिदिएको टिप्पणी गरे ।
आन्दोलनको सफलताका लागि गोली हान्नेलाई कारबाही गर्न, घाइते तथा सहिद परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्यसहित उचित राहत प्रदान गर्न र शासकीय स्वरूपमा परिवर्तन गरी जनताले नै कार्यकारी छनोट गर्न पाउने व्यवस्था गर्न उनले माग गरे ।
साथै, २०४६ सालपछि अकूत सम्पत्ति आर्जन गर्ने राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति राष्ट्रियकरण गर्न संविधान संशोधन गरिनुपर्ने उनको भनाइ छ ।
Facebook Comments