दशैँको मुखमा देशभर भारी वर्षाको सम्भावना
मेयरसाप डेस्क
|
२०८२ असोज १४ गते २३:२१
काठमाडौं । दशैँको चहलपहल बढिरहेका बेला देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव कायमै रहँदा आज (मंगलबार) देशभर साधारणतया वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा तराईका केही स्थानहरूमा वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागमा पनि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
वर्षा र भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दा तथा दशैँ मनाउन यात्रामा रहेकाहरूलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Facebook Comments