ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०–बुँदे योजना, समीक्षा गर्दै हमास

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते २०:०४
Image of https://mayorsap.com/storage/photos/10/68db6e443e2db.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सँगको सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यसहित २०–बुँदे शान्ति योजना प्रस्तुत गरेका छन् ।

रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले हमास लडाकूहरू निकै कमजोर भएको र प्रस्ताव स्वीकार्नुपर्ने बताएका छन् ।

योजना स्वीकृत भएमा ७२ घण्टाभित्र हमासले सबै बन्धकहरू (४८ मध्ये २० जीवित रहेको विश्वास) मुक्त गर्नुपर्नेछ । इजरायलले यसको बदलामा सयौँ प्यालेस्टिनी कैदी (आजीवन कारावास भोगिरहेका समेत) लाई रिहा गर्नेछ ।

हमासको निःशस्त्रीकरणको शर्त स्वीकार भएमा ट्रम्पको नेतृत्वमा र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समावेश गरी अस्थायी प्रशासकीय समिति गठन गरिनेछ । शान्तिपूर्ण सहअस्तित्वमा प्रतिबद्ध हमास सदस्यहरूलाई माफी दिइने र गाजा छोड्न चाहनेलाई सुरक्षित मार्ग उपलब्ध गराइनेछ ।

यो योजना कतारका प्रधानमन्त्री र इजिप्टका गुप्तचर प्रमुखमार्फत हमासलाई प्रस्तुत गरिएको छ, जसलाई हमास वार्ताकारहरूले ’राम्रो विश्वासका साथ’ अध्ययन गरिरहेको जनाइएको छ ।

कब्जिय गरिएको पश्चिम किनारको प्यालेस्टिनी सरकारले योजना स्वागत गरेको छ भने इजिप्ट, जोर्डन, कतार लगायतका अरब राष्ट्रहरूले ट्रम्पको पहलको प्रशंसा गरेका छन् ।

तर, दीर्घकालीन शान्तिको आधार मानिने प्यालेस्टिनी राज्यको प्रश्न प्रस्तावमा स्पष्ट नभएको भन्दै आलोचना भएको छ । विशेष गरी कट्टर इजरायली गठबन्धन साझेदारहरूले हमासको पूर्ण उन्मूलनको माग गरिरहेकाले प्रधानमन्त्री नेतान्याहुमाथि आन्तरिक दबाब कायम छ ।

राष्ट्रपति ट्रम्पले योजना असफल भएमा हमासविरुद्ध थप इजरायली कारबाहीमा ’पूर्ण समर्थन’ हुने चेतावनी पनि दिएका छन् ।


Facebook Comments