नवलपुरको महिला सहकारीद्वारा दशैँमा ३५० खसीबोका बिक्री

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते २१:००
Image of https://mayorsap.com/storage/photos/10/68dcf729e1d7e.jpg

मध्यविन्दु । नवलपरासीको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा महिला नेतृत्वमा सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले यस वर्षको दशैँको अवसरमा ३५० वटा खसीबोका बिक्री गरेको छ ।

सहकारीकी व्यवस्थापक सुशीला परियारका अनुसार घटस्थापनादेखि बिक्री सुरु गरिएका खसीबोका प्रतिकिलो सरदर रु ५७० (ज्युँदो) मा कारोबार भएका छन् । सहकारीले विगत ११ वर्षदेखि गाउँमा उत्पादित खसीबोका सङ्कलन गरी बजार व्यवस्थापन को काम गर्दै आएको छ । 

यसरी घरबाटै खरिद गरिने हुँदा किसानहरूले उत्पादनअनुसार मूल्य पाउन र बिचौलियाबाट ठगिने समस्या हटेको कृषकहरूको भनाइ छ । सहकारीले शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसीबोका खरिद गर्ने गरेको छ ।

गत वर्ष दशैँमा १,५०० खसीबोका बिक्री गरेर करिब रु दुई करोड ५० लाखको कारोबार गरेको संस्थाले यस वर्ष दशैँपछि पनि बजारमा माग हुने अनुमान गरेको छ । हुप्सेकोट क्षेत्रबाट उत्पादित खसीबोका काठमाडौँ र पोखरालगायतका सहरमा निर्यात हुने गरेका छन् ।


Facebook Comments