तुलसीपुरको राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते ००:४३
तुलसीपुर । दाङको तुलसीपुर–७, गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा आन्तरिक पर्यटकको आकर्षण तीव्र रूपमा बढिरहेको छ । सामुदायिक वन क्षेत्रमा निर्मित यो पार्क शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति र सुन्दर प्राकृतिक वातावरणका कारण लोकप्रिय बनेको हो ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीका अनुसार, यस पार्कमा पानीको फोहोरा, कृत्रिम झरना, डुङ्गा सयरको व्यवस्था भएको पोखरी, घोडा र चिडियाखानामा विभिन्न जनवारहरू राखिएको छ । हाल रङ्गौली गार्डेन र पिङ निर्माण को काम भइरहेको छ ।
पार्कमा दैनिक ४०० देखि ५०० जना ले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा यो सङ्ख्या दैनिक दुई÷तीन हजारभन्दा बढी पुग्छ । सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटक ले अवलोकन गर्ने गरेका छन् ।
यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत पर्यटक आउने गर्छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश को व्यवस्था छ, अन्यका लागि रु ३० को टिकट लाग्छ ।
साविक राप्तीमा जनयुद्ध उत्कर्षमा रहेका बेला शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित वि.सं. २०५९ मा स्थानीय पहलमा यो पार्क निर्माण कार्य सुरु भएको थियो ।
Facebook Comments