कास्की प्रशासनद्वारा ४ दिनसम्म यात्रा नगर्न र सतर्क रहन आग्रह
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते १०:१२
गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको चेतावनीपछि आज (शुक्रबार) देखि सोमबारसम्म चार दिन विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्भावित बाढीपहिरो, डुबान, र हिमपात जस्ता विपद्जन्य घटनाबाट जोगिन प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो ।
अति जरुरी काम नपरी सोमबारसम्म टाढाको दूरीमा र रातिको समयमा यात्रा नगर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले अनुरोध गरेका छन् । नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन भनिएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण, मर्दी लगायतका हिमाल क्षेत्रको पदयात्रामा नजान पदयात्री र पर्यटकलाई आग्रह गरिएको छ।
बिरेठाँटीदेखि घान्द्रुक, उल्लेरीदेखि लान्द्रुक लगायतका जोखिमयुक्त मार्गमा शुक्रबारदेखि दिउँसो ४ बजेभित्र मात्रै सवारी छुट्ने र फर्कने सवारी शनिबार बिहान ५ बजेपछि मात्रै छुट्ने व्यवस्था मिलाइएको छ ।
विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर जस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
कुनै विपद्जन्य घटना भएमा नजिकको प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
Facebook Comments