जनकपुरधाममा दुई समुदायबीच झडप, कर्फ्यू जारी

User Image मेयरसाप डेस्क | २०८२ असोज १७ गते १९:५४
Image of https://mayorsap.com/storage/photos/10/68dfe6fff039a.jpg

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच फेरि झडप भएको छ ।

अर्को समुदायले ढुङ्गामुढा गरेपछि आक्रोशित भीडले तेलिया पोखरीको डिलमा बनाइएको टहरामा आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवका अनुसार, भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको थियो ।

झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको छ । ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय घाइते भएका छन् । अवस्था बिग्रिएपछि स्थानीय प्रशासनले साँझ ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कफ्र्यू आदेश जारी गरेको छ ।

यसअघि भदौ दोस्रो साता गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा झण्डा विवादलाई लिएर दुई समुदायबीच तनाव उत्पन्न भएको थियो र सर्वपक्षीय बैठकबाट सद्भाव कायम गर्ने सहमति भएको थियो ।


Facebook Comments