नवलपुरमा लिङ्गे पिङ हराउँदै, दशैँको रौनक एकादेशको कथा बन्दै
मेयरसाप डेस्क
|
२०८२ असोज १७ गते १५:५३
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा दशैँको प्रमुख आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ पछिल्ला वर्षहरूमा तीव्र गतिमा लोप हुँदै गएको छ । एक दशकअघिसम्म टोल–टोलमा देखिने पिङ अहिले ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्र सीमित बनेका छन् ।
पिङ खेल्ने चाहना भए पनि विगत पाँच वर्षदेखि पिङ भेट्टाउन नसकेको गुनासो गर्दै मध्यविन्दु–८ का सुवास खत्री भन्छन्, “विगतमा बाटोघाटोमा पिङ भेटिन्थ्यो, तर अहिले कतै देख्न नपाएकाले खेल्न पाइएको छैन।“
युवा पुस्ता पिङभन्दा मोबाइल, इन्टरनेट र अन्य आधुनिक मनोरञ्जनका साधनमा झुम्मिने गर्छन् । नयाँ पुस्ता पिङ खेल्नुभन्दा घुम्न जाने र तास खेल्नेतर्फ रमाउने गरेका हुन्छन् ।
७५ वर्षीय प्रेम थापाका अनुसार, बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक बाबियोको डोरी (लठारो) को समेत अभाव छ ।
वर्षमा एक पटक जमिनबाट ’पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ’ भन्ने धार्मिक मान्यता पनि हराउँदै गएको छ । पाकापुस्ताका अनुसार, परम्परागत पिङको रौनक हराउँदै गएर युवा पुस्तामा तास र मदिराको कुलतको विकृति बढ्नु चिन्ताको विषय बनेको छ ।
Facebook Comments