‘सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ’
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते ०५:५८
काठमाडौं । विश्व दृष्टि दिवस को अवसर पारेर नेपाल नेत्रज्योति सङ्घले देशभरका सुरक्षाकर्मी (प्रहरी) हरूको निःशुल्क आँखा परीक्षण गरेको छ ।
नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरूको आँखा स्वास्थ्यलाई प्राथमिकता दिँदै यो सेवा देशभरका सञ्जालमार्फत प्रदान गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले जानकारी दिए ।
सुरक्षाकर्मी प्राथमिकतामा किन?
सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार, प्रहरीहरूले सुरक्षा दिएकै कारण ढुक्कले बस्न सकिएको भन्दै उहाँहरूको दृष्टि सुरक्षित हुँदा आम जनताको पनि सुरक्षा हुने भएकाले यस पटक प्रहरीलाई प्राथमिकतामा राखिएको हो ।
सङ्घका अध्यक्ष प्रा.डा. चेतराज पन्तले सार्वजनिक स्थल, सडकको धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशमा काम गर्ने प्रहरीहरूमा आँखाको समस्या देखिने जोखिम बढी हुने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
सङ्घद्वारा देशभर सञ्चालित २८ आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रहरूले स्थानीय प्रहरी कार्यालयहरूसँगको समन्वयमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
प्रहरीहरू अग्रभागमा रहेर जनतासँग जोडिने भएकाले उनीहरूको आँखा स्वास्थ्यको महत्त्व बुझाउन सकेमा त्यो सन्देश छिट्टै आम जनमानसमा पुग्ने विश्वासका साथ यो कार्यक्रम प्रहरी केन्द्रित गरिएको डा. पन्तले बताए ।
‘आफ्नो आँखालाई माया गरौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । सन् १९९८ को अक्टोबर ८ गतेदेखि विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले संयुक्त रूपमा यो दिवस मनाउन सुरु गरेका थिए ।
यसको मुख्य उद्देश्य अन्धोपनको कारक र यसको न्यूनीकरणका उपायहरूबारे जनचेतना बढाउनुका साथै सरोकारवालाहरूलाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा एकताबद्ध भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ ।
Facebook Comments