बाढीले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन

User Image मेयरसाप डेस्क | २०८२ असोज २४ गते २२:००
Image of https://mayorsap.com/storage/photos/10/68e8e6df68356.jfif

काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा एकतर्फी सञ्चालनमा आएको छ ।

असोज १७ देखि १९ गतेको अविरल वर्षाले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा क्षति पुगेको थियो, जसमध्ये करिब ४ किलोमिटर सडक खण्ड मर्मतपछि खोलिएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुर्ने जस्ता अस्थायी पुनर्निर्माणका काम गरिएको छ ।

बाढीपहिरोले काभ्रेको चौकीडाँडा लाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । साथै, कटुञ्जे, चिउरीबास, मङ्गलटार लगायतका क्षेत्रमा पनि सडक भत्किएको थियो । न्यौपानेका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार चौकीडाँडाको निरीक्षण गर्दै राति पनि काम सञ्चालन गर्न र मर्मत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए ।


Facebook Comments