मिथ्या सूचना नियन्त्रण गर्न प्रेस काउन्सिल गम्भीर बनोस् : मन्त्री खरेल

User Image मेयरसाप डेस्क | २०८२ असोज २६ गते १९:५५
Image of https://mayorsap.com/storage/photos/10/68eb65727f8dd.JPG

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपाललाई अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा काम गर्न सुझाव दिएका छन् ।

प्रेस काउन्सिलद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खरेलले आम निर्वाचनको तयारी तथा राजनीतिक गतिविधि बढिरहेका बेला परिणाममुखी काम गर्न आग्रह गरे ।

उनले व्यक्तिगत सामाजिक सञ्जालमा फैलिएका मिथ्या, गलत र घृणाजन्य सूचनाहरूको अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने बताए ।

विज्ञान र प्रविधिको विकाससँगै परिवर्तित अवस्थाअनुरूप कानुनलाई अघि बढाउन नसक्दा चुनौती खडा भएको मन्त्री खरेलको भनाइ छ । उनले सामाजिक सञ्जाल नियमन गर्न आवश्यक जनशक्ति र उपकरण को यकिन गरी तत्काल कार्यदल बनाएर काम गर्न काउन्सिललाई सुझाव दिए ।

मन्त्री खरेलले प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्ने र निर्वाचनका लागि आचारसंहिताको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले मन्त्रालयले नीतिगत सहयोग गरे पनि स्वायत्त निकायमा हस्तक्षेप नगर्ने प्रष्ट पारे ।


Facebook Comments