हमासले रिहा गर्यो २० जना बन्धक

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते १४:२३
Image of https://mayorsap.com/storage/photos/10/68ecc763ef9bd.jpg

काठमाडौं । इजरायल–हमास युद्धविराम सम्झौताको पहिलो चरणअनुसार हमासले सोमबार २० जना बन्धकलाई रिहा गरेको छ । रेडक्रस मार्फत उनीहरूलाई इजरायली सेनाको जिम्मा लगाइएको बीबीसीले जनाएको छ ।

यी बन्धकहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरी गाजा लगेको थियो । हमासले २० बन्धक रिहा गरेसँगै सम्झौताअनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ ।

बन्धक रिहाइको सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो, तर हालसम्म उनको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । इजरायली सेनाले रिहा भएका बन्धकहरूको तस्बिर सार्वजनिक गरेको छ, जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन लगायत छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन् । उनले इजरायली संसदलाई सम्बोधन गर्ने र बन्धकका परिवारलाई भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । शान्ति योजना अमेरिका, इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा तय भएको थियो ।


Facebook Comments