वीरगञ्जलाई 'हरित शहर' बनाउन सम्झौता, फोहोर प्रशोधन प्लान्ट बन्ने

User Image मेयरसाप डेस्क | २०८२ असोज २७ गते १९:०७
Image of https://mayorsap.com/storage/photos/10/68ecea83b1978.jfif

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ । आज महानगरपालिका कार्यालयमा रु चार करोडको निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि. बीच उक्त सम्झौता भएको हो । सम्झौताअनुसार महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ । 

निर्माण सम्पन्न भएपछि प्लान्ट महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । नयाँ प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाउनेछ ।

महानगर प्रमुख राजेशमान सिंहले यस परियोजनाले ’वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्य’मा सहयोग पुग्ने बताए । उनले अब फोहोरलाई समस्या नभई स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढेको उल्लेख गरे ।

सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले यो लगानी सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बताउँदै यसले वीरगंजलाई ’स्वच्छ र हरित शहर’ बनाउन स्थायी योगदान पुर्याउने विश्वास व्यक्त गरे ।


Facebook Comments