म्याग्दे गाउँपालिकामा ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रमः २४ जनालाई पोषणभत्ता वितरण

User Image मेयरसाप डेस्क | २०८२ असोज ३१ गते २३:५६
Image of https://mayorsap.com/storage/photos/10/myagde-gaunpalika.jpg

तनहुँ । म्याग्दे गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत २४ जना महिलालाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले थर्पु आधारभूत अस्पतालमा चालु आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सुत्केरी गराएकालाई प्रतिसुत्केरी रु पाँच हजारका दरले पोषणभत्ता उपलब्ध गराएको हो । 

संस्थागत सुत्केरी भएका १७ र सुत्केरी अवस्थामा जटिलता आएर अन्यत्र पठाइएका सात जनालाई रु पाँच हजारका दरले भत्ता उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए । 

संस्थागत सुत्केरी गराउनेलाई गाउँपालिकाले रु पाँच हजार र नेपाल सरकारबाट यातायात खर्चवापत रु आठ सय उपलब्ध गराइँदै आइएको छ । गाउँपालिकाले सुत्केरीलाई घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराउँदै आएको छ । शाखा प्रमुख घिमिरेले भने, “यहाँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसके पोखरासम्म पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छौँ ।” 

गाउँपालिकाले घरमा हुने जोखिमपूर्ण सुत्केरीको अवस्था अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

कार्यक्रम सुरु भएपछि घरमा हुने असुरक्षित सुत्केरी सङ्ख्या घटेको र संस्थागत सुत्केरी गराउनेको सङ्ख्या बढेको घिमिरेले जानकारी दिनुभयो । उनले भने, “यसले गर्दा घरमा हुने असुरक्षित सुत्केरीको कारण आमा र बच्चाको स्वास्थ्यमा हुने जोखिम न्यूनीकरणका पनि टेवा पुर्याएको छ ।” 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मातृशिशु मृत्युदर कम गराउन सञ्चालित यो कार्यक्रम प्रभावकारी बन्दै गएको र यसलाई निरन्तरता दिइने बताए। उनले भने, “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुन्छ । त्यसलाई निरुत्साहित गर्दै स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” 

गाउँपालिकाले दिने पोषण भत्ता लिनलाई गर्भवतीले कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ । म्याग्दे बाहिरका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेले भने यो सुविधा पाउँदैनन् । 


Facebook Comments