क्षतिग्रस्त काठमाडौं जिल्ला अदालतलाई प्राधिकरणको भवन दिइने
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २ गते ०८:०३
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो प्रधान कार्यालयको ’एनेक्स’ भवन काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न दिने निर्णय गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले उक्त भवन अदालतसँग करार (सम्झौता) गरी उपलब्ध गराउने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज उक्त निर्णयमा हस्ताक्षर गरेकी छन् ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति पुगेपछि सर्वोच्च अदालत तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कार्य सञ्चालनमा सहजीकरण गर्न अनुरोध भएको थियो ।
प्राधिकरणको मूल भवनको पूर्वतर्फको ’ब्लक बी’ भवन अर्को व्यवस्था नभएसम्मका लागि काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिइने निर्णयमा उल्लेख छ ।
जेनजी प्रदर्शनका कारण काठमाडौं जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन दुवै आगजनीबाट क्षतिग्रस्त भएका छन् ।
Facebook Comments