नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ कार्तिक १९ गते १८:५०
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक ओडीआई शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोली यूएईलाई २४० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोड्यो ।
नेपालले एक समय बलियो स्कोरतर्फ लय समातेको थियो, तर बीचमा भएका दुईवटा महत्त्वपूर्ण रनआउटले नेपालको रन गतिमा ब्रेक लाग्यो । राम्रो खेलिरहेका ब्याटरहरू आसिफ शेख (३४ रन) र दीपेन्द्रसिंह ऐरी (३७ रन) रनआउटको शिकार भएका थिए ।
नेपालको ब्याटिङमा भीम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। मध्यक्रममा आरिफ शेखले ३० रन जोडे भने सातौं नम्बरमा आएका कुशल मल्लले पनि महत्त्वपूर्ण योगदान दिए ।
अन्त्यतिर, दशौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले आक्रामक शैलीमा १० बलमा १५ रन जोड्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्याउन सहयोग गरे । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका प्रहार गर्न सफल भए ।
यूएईका बलरहरूमध्ये जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिएका थिए । नेपालले लगातार तीन हार बेहोरेको यस शृंखलामा आज जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा छ ।
Facebook Comments