देउसी भैलोबाट उठेको रकमले मन्दिर पुनः निर्माण गर्दै सृजनशील युवा क्लब

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०७:२३
Image of https://mayorsap.com/storage/photos/shares/domarsa.jfif

दोमार्सा । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३, दोमार्साका युवाहरूले सांस्कृतिक परम्परालाई सामाजिक हितसँग जोड्दै जीर्ण अवस्थामा रहेको कालिका मन्दिरलाई पुनः निर्माण गर्ने भएका छन् । स्थानीय सृजनशील युवा क्लबले देउसी भैलो कार्यक्रममार्फत उठाएको रकमबाट कालीका मन्दिर पुनः निर्माणको काम सुरु गरेका हुन् ।

स्थानीय गोविन्द ठकुल्लाका अनुसार, देउसी भैलो कार्यक्रम खेलेर कुल ५० हजार रुपैयाँ सङ्कलन भएको थियो । सङ्कलन भएको रकममध्ये केही खर्च कटाएर बाँकी २२ हजार रुपैयाँलाई जीर्ण अवस्थामा रहेको कालिका मन्दिरको पुनः निर्माणमा लगाइएको छ ।

“गाउँको पुरानो र जीर्ण अवस्थामा रहेको कालिका मन्दिरको पुनः निर्माण हाम्रो क्लबको मुख्य उद्देश्य थियो । देउसी भैलो कार्यक्रमले हामीलाई आर्थिक स्रोत जुटायो”, ठकुल्लाले भने, “थोरै रकम भए पनि युवाहरूको सक्रियता र श्रमदानले गर्दा हामीले मन्दिरलाई नयाँ शैलीमा निर्माण गर्न लागेका छौँ ।”

सृजनशील युवा क्लबको यो प्रयासले सांस्कृतिक पर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी गाउँको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । गाउँलेहरूबीच धार्मिक आस्था र सामाजिक सद्भाव बढाउनुका साथै युवाहरूलाई रचनात्मक कार्यमा उत्प्रेरित पनि गरेको छ ।


Facebook Comments