मधेस प्रदेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश–दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्नु

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ००:४५
Image of https://mayorsap.com/storage/photos/shares/sarbocha_1.jpg

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको हो । 

मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदनका आधारमा न्यायाधीश ढुंगानाको इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि यस्तो आदेश जारी गरेको हो । 

मधेस सरकार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको थियो । गत आइतबार दलहरूलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस होटेलमा बिरामीको बहाना बनाई भण्डारीले नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण समेत गराएकी थिइन् ।

यस विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेका छन् ।

 


Facebook Comments