जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २६ गते ००:०२
एजेन्सी । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।
विमानमा रहेका २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भने, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी–१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”
दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला–ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ ।
जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।
Facebook Comments