सिआन पुनर्स्थापना केन्द्र र महिला सुधार गृहमा प्रशासन, प्रहरी र सिआइबीद्वारा अनुगमन

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते ०२:२३
Image of https://mayorsap.com/storage/photos/shares/whatsapp-image-2025-11-12-at-13325-pm.jpeg

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोरा र केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त चौधरीको टोलीले हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुनर्स्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह)को संयुक्त अनुगमन, अन्तरक्रिया र अवलोकन गरेका छन्।

कार्यक्रमको सञ्चालन केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले गरेका थिए। उनले सिआन पुनर्स्थापना केन्द्रको स्थापनाकालदेखि हालसम्मका उपलब्धि, सेवा प्रवाह, पुनर्स्थापना सेवामा अपनाइएका वैज्ञानिक अभ्यासहरू र दीर्घकालीन लक्ष्यबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले सिआन पुनर्स्थापना केन्द्रले मकवानपुरमा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनर्स्थापना क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै भने, “सिआन पुनर्स्थापना केन्द्रले व्यवस्थित ढङ्गले सञ्चालन गर्दै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ। राज्यका निकाय र पुनर्स्थापना संस्थाबीचको सहकार्य अझ सुदृढ बन्नुपर्छ।”

त्यसैगरी प्रहरी प्रमुख बोहोराले लागुऔषध नियन्त्रणमा प्रशासन र पुनर्स्थापना संस्थाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भने, “आगामी दिनमा अझ सशक्त सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ।”

सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी.सी) ले सेवा सञ्चालनका क्रममा केन्द्रले भोगिरहेका चुनौतीहरूबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै भने, “सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनर्स्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैँ सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौँ।”

कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, सिआइबी, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


Facebook Comments