बंगलादेश 'हाई अलर्ट'मा : हसिना विरुद्धको फैसला आउँदै, सेना परिचालन

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते १२:४१
Image of https://mayorsap.com/storage/photos/shares/bangaladesh-hasina-mudaa.jpg

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला विशेष अदालत अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले नोभेम्बर १७ मा सुनाउने भएपछि देशमा तीव्र तनाव उत्पन्न भएको छ ।

सम्भावित फैसला र हसिनाको पार्टी अवामी लिगले बिहीबार घोषणा गरेको बन्दका कारण राजधानी ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको छ र सहर लकडाउनजस्तो अवस्थामा छ । देश उच्च अलर्टमा पनि रहेको छ ।

अभियोजन पक्षले हसिनालाई मृत्युदण्डको सजाय माग गरेको छ । उनीविरुद्ध गत वर्ष विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको मानवता विरुद्धको आरोप छ । हसिनासँगै पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख अब्दुल्लाह अल मनुन पनि यस मुद्दामा अभियुक्त छन् ।

आन्दोलनले हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन र भारत जान बाध्य पारेको थियो । हसिनाले भने आफूमाथि लागेका आरोपहरू मनगढन्ते र राजनीतिक षड्यन्त्र भएको दाबी गर्दै न्यायाधिकरणको निष्पक्षतामाथि प्रश्न उठाएकी छिन् ।

बन्द र सम्भावित फैसलालाई ध्यानमा राख्दै सरकारले ढाकामा सेना, सीमा रक्षक र दङ्गा विरोधी प्रहरी कर्मचारीहरू तैनाथ गरेको छ ।

ढाकाका सडकहरू खाली छन् र धेरै संस्थाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् । मिडिया रिपोर्टअनुसार ढाका र अन्य क्षेत्रमा पाँच वटा खाली बसमा आगजनी भएको छ ।


Facebook Comments