पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको भारतसँग आग्रह
मेयरसाप डेस्क
|
२०८२ मंसिर १ गते ०१:२६
एजेन्सी । बङ्गलादेशले भारतसँग अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न औपचारिक माग गरेको छ।
बङ्गलादेशमा मानवताविरुद्धको अपराधमा दोषी ठहर भई मृत्युदण्डको सजाय सुनाइएका पूर्व प्रधानमन्त्री शेख हसिनालाई भारतले शरण दिएको आरोपबीच ढाकाले नयाँदिल्ली समक्ष सुपुर्दगीको माग गरेको हो।
सन् २०२४ अगस्टको जनविद्रोहपछि पदच्युत भएकी ७८ वर्षीया हसिना भारत भागेर नयाँदिल्ली पुगेकी थिइन्। अहिले पनि उनी दिल्ली वा अन्य भारतीय शहरमा बसेको अनुमान गरिएको छ। भारतले हसिनालाई सहयोग र संरक्षण दिएको भन्दै दुई छिमेकीबीच कूटनीतिक तनाव बढेको छ।
ढाकास्थित अदालतले विद्यार्थी नेतृत्वमा भएको जनविद्रोहविरुद्ध भएका घातक दमनका कारण मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। पूर्व मन्त्री कहाँ छन् भन्ने स्पष्ट छैन, तर उनी पनि भारतमै भएको बङ्गलादेशको दाबी छ।
बङ्गलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी भारत सरकारसँग आग्रह गर्छौं कि ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरू समक्ष सुपुर्दगी गरियोस्।” विज्ञप्तिमा सुपुर्दगी नदिइ शरण दिने कार्य “अमैत्रीपूर्ण र न्यायको अपमान” हुने चेतावनी पनि दिइएको छ।
यता भारतीय विदेश मन्त्रालयले अदालतको फैसलालाई ध्यान दिएको बताउँदै जारी विज्ञप्तिमा भनेको छ, “भारत शान्ति, लोकतन्त्र, समावेशिता र स्थिरतासहित बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध छ।”
हसिनाको १५ वर्षे शासनकालमा राजनीतिक विरोधीहरूको सामूहिक गिरफ्तारीदेखि गैरन्यायिक हत्या जस्ता गम्भीर मानवअधिकार उल्लङ्घन भएको आरोप लाग्दै आएको छ। गत वर्ष बङ्गलादेशले हसिनाविरुद्ध इन्टरपोलमार्फत ‘खोजी’ सूचना जारी गर्ने बताएको थियो, तर इन्टरपोलको सूचीमा उनको कुनै रेकर्ड नदेखिएको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख गरिएको छ।
अन्तरिम सरकारका नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अदालतको निर्णयको स्वागत गर्दै विज्ञप्तिमा भनेका छन्, “पूर्व प्रधानमन्त्री हसिना र पूर्व मन्त्री खान कमललाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाइनु ऐतिहासिक फैसला हो।” उनले शान्ति कायम गर्न आग्रह गर्दै सार्वजनिक व्यवस्था भङ्ग गर्ने कुनै पनि प्रयास नगर्न चेतावनी दिएका छन्।
Facebook Comments