कोलम्बियामा सैनिक कार्बाहीका क्रममा गोली लागेर अपहरणमा परेका १५ बालबालिकाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते २२:५५
एजेन्सी । कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकूहरूलाई लक्षित गरी सञ्चालन गरिएको सैन्य कार्बाहीका क्रममा १५ जना अपहरणमा परेका बालबालिकाहरूको ज्यान गएको अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । यसै सशस्त्र समूहद्वारा जबर्जस्ती अपहरणमा पारिएका ती नाबालिगहरू सेनाको कार्बाहीमा गोलीको शिकार भएको बताइएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोले हालैका दुई सैन्य बम आक्रमणमा पाँच बालबालिकाको मृत्यु भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेका थिए। कोलम्बियाको मानव अधिकार लोकपालको कार्यालयले सो सङ्ख्यामा सातसम्मको थप पुष्टि गरेको छ । ती बालबालिकाहरूको उमेर सार्वजनिक गरिएको छैन ।
यसैबीच, कोलम्बियाको नेसनल इन्स्टिच्युट अफ लिगल मेडिसिन एन्ड फरेन्सिक साइन्सेजले सोमबार नै अगस्ट २४ मा दक्षिण–मध्य ग्वाभियर विभागमा भएको एक सैन्य आक्रमणका क्रममा तीन नाबालिगको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
सेना र अभियोजकहरूले अक्टोबर १० मा १९ गुरिल्ला सदस्य र सात बालबालिकाको ज्यान जाने गरी भएको आक्रमणबारे संयुक्त छानबिन सुरु गरेको जानकारी दिएपछि राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत लेख्दै भने, “सबै नाबालिगहरू अपराधी समूहहरूद्वारा जबर्जस्ती भर्ती गरिएका थिए, जसले उनीहरूलाई सीधै वैमनस्य र युद्धको मैदानमा धकेलेको थियो ।”
कोलम्बियामा रहेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले अपहरणमा परेका बालबालिकाहरूको सुरक्षाका लागि सेना तथा सुरक्षाकर्मीहरूले सकेसम्म सबै उपाय अपनाउनुपर्नेमा जोड दिँदै नाबालिगहरूको मृत्यु भएको घटनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । रिपोर्टहरूअनुसार कोलम्बियामा औसतमा प्रत्येक दुई दिनमा एक नाबालिगलाई छापामार समूहहरूले अपहरण गरी लडाकूका रूपमा तालिम दिने गरेका छन् ।
Facebook Comments