शिविरमार्फत टोल–टोलमै पुगेर प्रशासनिक सेवा दिँदै उमाकुण्ड गाउँपालिका
गाउँपालिकाको सानो खर्चले नागरिकले पाए ठूलो सेवा
मेयरसाप डेस्क
|
२०८२ मंसिर ८ गते १८:३५
रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो ।

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुवस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिकाले लगातार ४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाबाट सात-आठ वटा सेवा लिएर नागरिकको घर दैलोमा पुगेको बताइन् । यो सेवाले नागरिकको ठूलो रकम बचत भएको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले गाउँपालिकाको केन्द्रमा आउन समेत चार घण्टा लाग्ने नागरिकलाई वडामा नै गएर दिने सेवाले निक्कै सहयोग पुगेको बताए । गाउँपालिकाको सानो खर्चले नागरिकले ठूलो सेवा पाएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र लगायतका कार्यक्रम लिएर उमाकुण्ड पुगेका अधिकृत भीमराज बस्नेतले सेवा लिने नागरिकहरूको उत्साहजनक सहभागिता रहेको बताए । रातिसम्म काम गरेर भए पनि नागरिकका काम सकेर मात्रै हिँड्ने गरेको उनले जानकारी दिए ।
उमाकुण्ड गाउँपालिकाको यो प्रयासले संविधानले परिकल्पना गरेको हेर्न सकिने, देख्न सकिने, छुन सकिने र भेट्न सकिने स्थानीय सरकारको अनुभूति नागरिकलाई दिएको छ ।

Facebook Comments