सात वर्षपछि बन्यो कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको भवन

मुख्यमन्त्री कँडेलले गरे उद्घाटन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते १९:०४
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-1.jpeg

सुर्खेत । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले मुलुक संघीयतामा गएको सात वर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । 

पालिकाको प्रशासनिक भवन निर्माण कार्य सकिएसँगै मंगलबारदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले आठ हजार वर्गमिटर जग्गा निःशुल्क दिएका थिए ।

गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लागत साझेदारी गरी ७ करोड ८८ लाख ४४ हजार ९ सय ४८ मा भवन निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालले बताए । सभा हलसहित ३ तले भवनमा २२ कोठा रहेका छन् । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवन उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले नागरिकको सबैभन्दा नजिकको सरकार पूर्वाधार र जनशक्तिका हिसाबले पूर्ण हुन सकेमात्र नागरिकले प्रभावकारी सेवा पाउने बताए ।

गाउँको विकासका लागि सबै दलहरु राजनीतिभन्दा माथि उठ्नु पर्ने उनको भनाइ छ । ‘विकासमा प्रतिष्पर्धा गर्न सके मात्र गाउँले काँचुली फेर्न सक्छन्’ उनले भने, ‘विकास रोक्नका लागि राजनीति होइन कि विकास गर्नका लागि प्रतिष्पर्धा गरौं ।’ 


Facebook Comments