वृद्ध हेरचाह तालिम संस्था ‘ईशा केयरगिभर्स’को नयाँ शाखा उद्घाटन

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १२:००
Image of https://mayorsap.com/storage/photos/shares/img-0017.JPG

काठमाडौं । नेपालको पहिलो वृद्ध हेरचाह तालिम संस्था ‘ईशा केयरगिभर्स’ले आज काठमाडौंको ट्रेड टावर थापाथलीमा नयाँ शाखा स्थापना गरी उद्घाटन गरेको छ । ‘ईशा केयरगिभर्स’ले सञ्चालनमा ल्याएको यो ५औँ शाखासँगै संस्थाले वृद्ध हेरचाह शिक्षालाई थप पहुँचयोग्य बनाएको छ ।

शाखा उद्घाटन कार्यक्रममा बोल्दै संस्थाकी सञ्चालक तथा निर्देशक इन्दिरा शर्माले ईशा केयरगिभर्स अझै पनि सिक्दै र भोग्दै अगाडि बढ्ने क्रममा रहेको बताइन् । उनले संस्था अहिले पनि संघर्षकै चरणमा रहेकाले यस यात्रामा सबैको साथ सहयोग आवश्यक रहेको बताएकी हुन् ।

त्यस्तै संस्थाका प्रबन्धक तिलक शर्माले केयरगिभर्स तालिमलाई बोझका रूपमा नलिई उत्साहका साथ सिक्न प्रशिक्षार्थीहरूलाई आग्रह गरेका छन् । उनले बिना तालिम विदेशमा वृद्ध हेरचाहको काममा गएका नेपालीहरूले दुःख पाउने गरेको समेत बताए ।

शर्माले सर्टिफिकेट किनेर जाने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै त्यसो नगर्न सबैलाई अनुरोध पनि गरे । प्रबन्धक शर्माका अनुसार, आफ्नो संस्थाबाट तालिम लिएका नेपालीहरू विश्वका अधिकांश देशहरूमा सफलतापूर्वक पुगेका छन् ।

नयाँ शाखा स्थापनाले काठमाडौं उपत्यकाभित्र बढ्दो हेरचाह सेवाको मागलाई सम्बोधन गर्न र थप दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो संस्थाले काठमाडौंलगायत पोखरा, चितवन र बुटवलबाट पनि सेवा दिँदै आएको छ ।

सन् २०१३ मा स्थापित ईशा केयरगिभर ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालमा वृद्ध हेरचाहलाई व्यावसायिक बनाउने दूरदृष्टिका साथ सुरु भएको थियो । छोटो समयमै यो संस्था नेपालको पहिलो समर्पित केयरगिभर तालिम संस्थान र वृद्ध हेरचाह शिक्षाको ‘पावरहाउस’को रूपमा स्थापित भएको छ ।

नेपालमा हेरचाह संस्थाहरूको जननीको रूपमा चिनिने ईशा केयरगिभर्सले गुणस्तरीय वृद्धाश्रम शिक्षाका लागि उच्च मापदण्ड स्थापित गरेको छ । संस्थाको नवीन पाठ्यक्रम र व्यावहारिक प्रशिक्षण दृष्टिकोणले देशको सम्पूर्ण हेरचाह क्षेत्रलाई नै सकारात्मक रूपमा आकार दिएको दाबी गरिएको छ ।

ईशा केयरगिभर्सबाट तालिम प्राप्त जनशक्ति अहिले नेपालसहित अष्ट्रेलिया, क्यानडा र अन्य धेरै देशहरूमा रहेका वृद्धाश्रम सुविधाहरूमा कार्यरत छन् । यसका धेरै पूर्व विद्यार्थीहरूले ईशाको उत्कृष्टताको विरासतलाई निरन्तरता दिँदै आफ्नै तालिम संस्थाहरू समेत स्थापना गरेका छन् ।


Facebook Comments