एनपीएल प्लेअफ समीकरण : एक स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा

लुम्बिनी लायन्स बलियो दाबेदार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १२:१७
Image of https://mayorsap.com/storage/photos/shares/n.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा प्लेअफमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागिसकेको छ, भने अन्तिम एक स्थानका लागि चार टोलीहरूबीच तीव्र प्रतिस्पर्धा जारी छ । चार टोलीमध्ये लुम्बिनी लायन्स प्लेअफको ढोका खोल्न सबैभन्दा बलियो दाबेदार बनेको छ ।

सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । सुदूरपश्चिमले ६ म्याचमा शतप्रतिशत जित हासिल गर्दै पहिलो क्वालिफायर खेल्ने पक्का पनि गरेको छ ।

क्वालिफायर र इलिमिनेटर
समूह चरणका शीर्ष दुई टोलीले क्वालिफायर खेल्छन् । हार्ने टोलीले अर्को एक मौका पाउँछ । तेस्रो र चौथो स्थानमा रहेका टोलीले इलिमिनेटर खेल्छन्, जसको विजेताले पहिलो क्वालिफायरमा हार्ने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउँछ ।

आजको खेल निर्णायक
आज हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बीचको म्याचले प्लेअफको समीकरणलाई निर्णायक मोड दिन सक्छ । लुम्बिनी लायन्सले अहिलेसम्म तीन म्याच जितेर ६ अङ्क बटुलेको छ ।

यदि लुम्बिनीले आजको खेल जित्यो भने उसको ८ अङ्क पुग्नेछ । यस अवस्थामा बाँकी तीन टोली (जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज) को प्लेअफमा पुग्ने ढोका बन्द हुनेछ ।

दुई–दुई म्याच जितेका पोखरा र चितवनसँग ४ अङ्क छ, भने एक म्याच मात्र जितेको जनकपुरसँग २ अङ्क छ ।

यदि लुम्बिनीलाई जनकपुरले हरायो भने भने चार वटै टोलीको प्लेअफ सम्भावना जीवित रहन्छ । जनकपुरले बाँकी दुवै म्याच राम्रो रन रेटका साथ जितेमा मात्र उसको सम्भावना रहनेछ ।

भोलिको समीकरण
विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स समूह चरणको अन्तिम खेल भोली खेल्दै छन् । सुदूरपश्चिमका लागि यो खेलको कुनै अर्थ छैन । तर, विराटनगरले ठूलो अन्तरले जितेमा अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएर क्वालिफायर खेल्न पाउनेछ । हारेमा इलिमिनेटरमा धकेलिन्छ ।

भोली हुने अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दै छन् । यदि आज लुम्बिनीले जित्यो भने यो म्याच अर्थहीन बन्ने छ । तर, लुम्बिनीले हारेको खण्डमा चितवन र पोखरा दुवै टोली प्लेअफको आशा जीवित राख्न ठूलो जितको खोजीमा हुनेछन् ।

पर्सीको समीकरण
पर्सी आइतबार समूह चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सले खेल्नेछन् । कर्णाली याक्स प्लेअफको दौडबाट बाहिरिइसकेको छ । जनकपुरले आजको म्याच हारेमा यो खेल पनि अर्थहीन बन्ने छ । तर, जनकपुरले आज जितेमा भने यो म्याचले अन्तिम स्थानको छिनोफानो गर्न सक्छ ।

समग्रमा, लुम्बिनी लायन्सले आजको खेल जितेको खण्डमा एनपीएल प्लेअफको समीकरण लगभग स्पष्ट हुनेछ, अन्यथा अन्तिम स्थानका लागि प्रतिस्पर्धा समूह चरणको अन्तिम म्याचसम्म लम्बिने निश्चित छ ।


Facebook Comments