परशुराममा ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बन्दै
विपन्न विद्यार्थीलाई शिक्षामा राहत
मेयरसाप डेस्क
|
२०८२ मंसिर २१ गते १३:०१
डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच पुर्याउन सुरु गरेको ‘बिनाब्याज शैक्षिक ऋण’ कार्यक्रम प्रभावकारी बनेको छ ।
नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्न चाहने विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने नीति लिएको थियो ।
गत आर्थिक वर्षबाट सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म ३० जना विद्यार्थीले ऋण लिई अध्ययन गरिरहेका छन् । उनीहरूलाई दोस्रो किस्ता वितरण कार्य अहिले चालु छ ।
कर्जा सुविधा प्रयोग गरी विद्यार्थीहरूले देशका विभिन्न कलेजहरूमा एमबीबीएस, इन्जिनियरिङ, बीएस्सी एजी (कृषि), नर्सिङ, एचए र कम्प्युटर इन्जिनियरिङ जस्ता प्राविधिक विषयहरू अध्ययन गरिरहेका छन् ।
नगरप्रमुख भरत बडायर जोशीका अनुसार, विद्यार्थीको शुल्कबापतको रकम नगरपालिकाले सोझै सम्बन्धित क्याम्पसको खातामा जम्मा गरिदिने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि नयाँ आवेदन पनि खुलाएको छ ।
Facebook Comments